Ticker

6/recent/ticker-posts

Header Ads Widget

लोकतन्त्र र लोकतान्त्रिक निष्ठाले जितेको दिन

 INT NEWS NETWORK 

धर्मेन्द्र झा/रासस

काठमाडौँ, २१ फागुनः नेपालको राजनीति जब अनिश्चयको भुमरीमा फस्न खोज्छ र सडकमा आक्रोशको लहर चल्छ, तब धेरैलाई लाग्छ– अब प्रणाली नै पो ढल्ने हो कि ! मुलुकमा यस्तो क्षण पटक पटक आएको छ । निकट विगत अर्थात् भदौ २३ र २४ गतेको त्यो ‘जेनजी विद्रोह’ पछिको स्मरण गरौँ त ! जनमानसको मन मनमा जुन सन्नाटा र संशय छाएको थियो, त्यसले नेपालको लोकतान्त्रिक भविष्यमाथि ठूलो प्रश्नचिह्न खडा गरिदिएको थियो । तर, आज सम्पन्न निर्वाचनले ती तमाम संशयलाई चिर्दै एउटा बलियो सन्देश दिएको छ कि नेपाली लोकतन्त्र संकटमा झन् सम्हालिन्छ र यसले निकास खोज्न जान्दछ ।


गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन हुँदा धेरैलाई यो केवल ‘आवश्यकताको सिद्धान्त’ को एउटा कमजोर ‘त्यान्द्रो’ मात्र लागेको थियो । विद्रोहको राप, भौतिक संरचनाको क्षति र कानुनी राज्यविहीनताको त्यो तरल अवस्थामा छ महिनाभित्र निर्वाचन हुन्छ भन्नु केवल स्वेत कल्पनाजस्तो थियो । चरम अविश्वास थियो । घोर निराशा थियो । देशैभरि सन्नाटा छाएको थियो, मानौँ ठूलै आँधीबेहरीपछिको सन्नाटा । त्यसभित्र शुन्यता थियो ।  हुन पनि मुलुकमा जेनजी पुस्ताको यस्तो अकल्पनीय विद्रोह भयो कि त्यो कुनै नियमित आकस्मिकता थिएन । सिंहदरबारदेखि मुुलुकका महत्वपूर्ण भौतिक संरचनामा क्षति पुग्यो । दुई दिनको आन्दोलनबाट मानिसहरुका आशा र आस्थाका धरहरा एकाएक ढल्न थाले । अनुशासन भड्कियो । कानुनी राज्यविहीनताको अवस्था सृजना भयो । भदौ अन्तिम साताको मुलुकको परिस्थिति सम्झिनुस् त ! अवस्था यति तरल बन्न पुग्यो कि भोलि के हुन्छ भन्ने कुराको कुनै अनुमान गर्न सक्ने अवस्था थिएन । थरिथरीका अनुमानले नेपाली लोकतन्त्रको भविष्य अँध्यारो सुरुङभित्र छिर्दै गरेको भनेर टिप्पणी हुन्थे । यसले चुनाव सम्भव हुन्छ भन्ने कल्पनाको क्षितिज निकै दूर थियो । सुरुका दिनमा न राजनीतिक दल न त आमजनताले आजको दिन देख्न पाइएला भन्ने विश्वास गरेका थिए । यतिसम्म कि देश सम्पूर्ण रुपमा चुनावमा होमिसकेको अवस्थामा पनि केही दिनअघिसम्म अनेकन संका उपसंका व्यक्त भइरहेका थिए । 

भनिन्छ नि, आकाश ढाकेको कालो बादलभित्र पनि चाँदीको घेरा हुन्छ । हो, त्यही चाँदीको घेराभित्र भविष्य देख्यो– सम्माननीय सुशीला कार्की नेतृत्वको सरकारले । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको संवैधानिक जुक्ति भनेर कोरिदिएको निर्वाचन सम्पन्न गर्ने ‘लक्ष्मण’ रेखामा रहेर प्रधानमन्त्री कार्कीले निर्वाचनलाई आफ्नो अर्जुनदृष्टि बनायो । त्यसैले त आज असम्भवजस्तै लाग्ने निर्वाचन सम्भव भएको छ । जब राजनीतिक दलहरू नै निर्वाचनको निष्पक्षता र सुरक्षालाई लिएर द्विविधामा थिए, तब सरकारले निर्वाचनलाई लोकतन्त्र जोगाउने र संविधानलाई पुनः लिकमा ल्याउने एकमात्र संकल्प लियो । एकातिर सिंहदरबारमा आगो पुत्ताउँदै थियो, अर्कोतिर सरकारप्रति नै राजनीतिक दललगायत सरोकारवाला आश्वस्त भइसकेका थिएनन् । उनीहरु निर्वाचनको निष्पक्षता र सुरक्षामाथि प्रश्न उठाएर अनेक अड्कल गरिरहेका थिए, तर सरकार आफ्नो लक्ष्यबाट विचलित भएन । विस्तारै अविश्वासलाई विश्वासमा परिणत गर्न प्रयत्न गरिरह्यो । कार्की नेतृत्वको सरकारले कमजोर मनोबलमा रहेको भनिएको सुरक्षा निकाय, निर्वाचन आयोग र सरोकार भएकाहरुलाई विश्वासमा लिँदै अघि बढ्यो । लिकबाट झण्डै बाहिरिन खोजेको संविधानलाई पुनःबहाली गर्न, कानुनी राज्यलाई निरन्तरता दिन र विद्रोहमार्फत जेनजी पुस्ताले खोजेको सुशासन स्थापना गर्न निर्वाचन बाहेकको अर्काे विकल्प थिएन । प्रतिनिधिसभा विघटन भएको या कार्यकाल सकिएको छ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था थियो । यो मर्म बुझेको व्यक्ति भएकाले पनि होला पूर्वप्रधानन्यायाधिश कार्की नेतृत्वको सरकारले त्यो दायित्वबाट विचलित नभई युगीन जिम्मेवारी पूरा गरेको छ । यसका लागि सरकार नेपाली जनताका लागि धन्यवादको पात्र छ । प्रधानमन्त्री कार्कीको अविचलित निष्ठा र साहसमा उहाँका सारथी गृहमन्त्री ओमप्रकाश अर्यालको सालिनता र धैर्यताले पनि आज यो रुप र स्वरुपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको हो भन्दा फरक नपर्ला । 

फेरि दोहो¥याउँछु, मतगणना सुरु हुँदै गर्दा बाकसभित्र कसको भाग्य कस्तो छ भन्ने चासो स्वाभाविक हो, तर यो क्षणमा कुनै व्यक्ति वा दलको जीतभन्दा पनि पद्धतिको जीत ठूलो कुरा हो । यो जीत प्रधानमन्त्री सुशीला कार्की र हामी नेपाली जनताको हो । प्रधानमन्त्री कार्की, जसको अदम्य साहसको जित हो । उहाँले जेनजी समूहको धम्की र दबाबका बीच पनि आफ्नो न्यायिक निष्ठा र कार्यकारी दृढता डगमगाउन दिनुभएन । यसमा गृहमन्त्री अर्यालको सालिनता र निर्वाचन आयोगको अहोरात्र खटाई उत्तिकै प्रशंसनीय छ । जेनजी विद्रोहले एउटा स्पष्ट संकेत दिएको थियो कि अबको पुस्ता पुरानो ढर्राको ‘कन्जरभेटिभ’ अभ्यासबाट सन्तुष्ट छैन । त्यसैले यो निर्वाचनले अब नेपाललाई ‘लिबरल डेमोक्रेसी’ र वास्तविक सुशासनतर्फ डो¥याउने नयाँ ढोका खोलेको छ ।

भनिन्छ, बाटो चुके दिनको फेर हुन्छ तर मौका चुके युगको फेर । आज हामी गर्व र ढुक्कका साथ भन्न सक्छौँ कि अब फेरि हामीले  कठिन दिनको सामना गर्नुपर्ने छैन । किन भने हामीले संकटका बीच पनि मौका चुकाएनौँ । अवसर पनि गुमाएका छैनौँ । अब हामीले न त सरकार गठन गर्न कुनै अवश्यकताको सिद्धान्तको साहारा लिनुपर्नेछ र न त लोकतन्त्रको सम्वर्धन र गणतन्त्रको संरक्षणका लागि कुनै बाधा अड्काउ नै फुकाउनुपर्ने बाध्यता छ । हामीले लोकतान्त्रिक शासन व्यवस्थाका लागि विश्वमा सर्वस्वीकृत विधि निर्वाचन बडो शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गरेका छौँ र यही विधिबाट अघि बढ्ने प्रण गरेका छौँ । त्यसैले आजको दिन लोकतन्त्रले जितेको दिन हो र हिजोको सङ्कट एवं अप्ठेरो परिस्थितिबाट अब सहज र प्रजातान्त्रिक मार्ग पहिल्याउन प्रण गरेको दिने हो । अब बाकसमा बन्द भएका मतपत्रहरू केवल उम्मेदवारका भविष्य होइनन्, ती त नेपालको सुदृढ लोकतन्त्रका नयाँ आधारशिला हुन् । यो निर्वाचन सम्पन्न भएसँगै मुलुक राष्ट्रिय एकताको बाटोमा फर्किएको छ र लोकतान्त्रिक संस्कारको जीत भएको छ । प्रतिकूलताका बीच पनि मुलुकलाई यो बिन्दुसम्म ल्याउने वर्तमान सरकार र दृढ संकल्पित नेतृत्व, यसमा सहयोग गर्ने सबै राजनीतिक दल साँच्चै नै धन्यवादका पात्र छन् । –––

Post a Comment

0 Comments